आईफोन १५ प्रो र १५ प्रो म्याक्सकाे ब्याट्रीमा तात्तिने समस्या देखिएकाे भन्दै विभिन्न रिपोर्ट बाहिरिएका छन् । एप्पलले फोनको थर्मल सिस्टम डिजाइनमा गरेको त्रुटिले त्यस्तो समस्या आएको हुनसक्ने विश्लेषण गरिएकाे छ ।
एन्ड्रोइड अथोरिटीले उक्त समस्या वास्तविक हो वा होइन भन्ने पुष्टि गर्न आईफोन १५ प्राेमा परीक्षण गरेको थियो । फोनमा एकैपटक विभिन्न कामहरू गर्न थालियाे भने त्यसको तापक्रम ४७.४ डिग्री सेल्सियस पुगेको एन्ड्रोइड अथोरिटीको निष्कर्ष छ ।
एप्पलका विश्लेषक मिङ चि कुओका अनुसार ब्याट्री तात्तिने समस्या र आईफोनमा भएको ए१७ चिपबीच कुनै सम्बन्ध छैन । कम्पनीले प्राे माेडेलकाे तौल कम बनाउन त्यसको थर्मल सिस्टममा कम्प्राेमाइज (सम्झाैता) गर्दा फोन तात्तिने समस्या आएको हुनसक्ने उनको तर्क छ ।
त्यस्तै एप्पलले फोन बलियो र हलुका बनाउन प्रयोग गरेको टाइटानियमको फ्रेमले गर्दा पनि फोन तात्तिएको अड्कल गरिएकाे छ । किनभने टाइटानियमले थर्मल इफिसियन्सीलाई नकारात्मक रूपमा प्रभाव पार्छ ।