बुद्ध एयरको जहाजको ल्यान्डिङ गियर (पाङ्ग्रा) नखुल्दा झन्डै दुई घण्टापछि काठमाडौँमै अवतरण गरिएको घटनाको छानबिन गर्न तीन सदस्य टोली गठन गरिने भएको छ।
घटना छानबिनका लागि बनेको समितिले अनुसन्धानपछि आफ्नो रिपोर्ट नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनेछ। सँगसँगै अवतरणमा समस्या देखिएको जहाजको प्राविधिक परीक्षण पनि हुने भएको छ।
काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियर नखुल्दा झन्डै दुई घण्टापछि काठमाडौँमै अवतरण भएको थियो। प्राधिकरणका एक अधिकारीले भने, ‘‘घटना के कसरी भयो भन्ने सत्यतथ्य छानबिन गर्न समिति गठन गरिने छ। विमानको प्राविधिक जाँच समेत गरिने छ। समितिले केही दिनमै प्रतिवेदन दिने छ।’’
काठमाडौंको आकाशमै झन्डै १० फन्को लगाएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर १६ मिनेटमा सुरक्षित रूपले अवतरण गरिएको विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले बताए। जहाजले काठमाडौंको आकाशमा २४ मिनेट होल्ड गरेको थियो । जहाजमा ७३ यात्रु र चालक दलका ४ सदस्य सवार थिए।