एमसिसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज बुधबार नेपाल बन्दको घोषणा गरेका छन् । आजकाे प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेको भन्दै ती दलहरुले बन्दको घोषणा गरेका हुन् ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् ।

बन्दले लामो दूरीमा चल्ने गाडी प्रभावित भएका छन् । काठमाडौं उपत्यकाका मुख्य मुख्य चोक र सडकका मुख्य मुख्य स्थानमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन्। गृह मन्त्रालयले मंगलबार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिइसकेकाे छ ।
‘नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले सो सन्दर्भमा कानून विपरीतका उल्लेखित गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनुहुन आदेशानुसार अनुरोध छ’ गृहमन्त्रालयले भनेको छ ।
