पार्टीले आधिकारिक रूपमा उम्मेदवारको टुंगो नलगाउँदै नेकपा एमाले बझाङले प्रचार थालेको छ ।
एमालेले जिल्लाको विकट साइपाल गाउँपालिकाबाट औपचारिक रूपमा चुनावी प्रचार सुरु गरेको हो । अनेरास्वियुका पूर्वअध्यक्षसमेत रहेका केन्द्रीय कमिटी सदस्य ऐन महरलाई प्रतिनिधिसभा उम्मेदवारको रूपमा अघि सार्दै एमालेले प्रचार सुरु गरेका छ ।

महरसहित जिल्ला अध्यक्ष दमन भण्डारीसहितको टोली मंगलबार साइपाल गाउँपालिकामा प्रचारका लागि हिँडिसकेको छ ।
अध्यक्ष भण्डारी पनि प्रदेशसभाको उम्मेदवारका दाबेदार हुन । उनीहरूको टोलीले करिब हप्ता दिनसम्म साइपाल गाउँपालिकामा घरदैलो गर्ने एमालेका नेताहरू बताउँछन् । ‘बाहिर घोषणा नभएपनि उहाँहरूको टिकट पक्का जस्तै हो ।
केन्द्रीय नेताहरूले भनेर नै उहाँहरू प्रचारमा हिँड्नुभएको हो,’ एमालेका जिल्ला कमिटी सदस्य दीपक रोकायाले भने, ‘प्रचार अभियानको सुरु जिल्लाको विकट पालिकाबाट नै गरौं भनेर साइपाल छानिएको हो ।’ उनले महरको टोली साइपालबाट फर्किए लगत्तै उम्मेदवारी दर्ता गरेर प्रचार अभियानलाई घनीभूत बनाउने बताए ।