काठमाडौं । नेपालमा पछिल्लो एक महिनामा ५० हजार भन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । यो क्रम झन् बढ्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ । तर, संक्रमणलाई रोक्ने मन्त्रालयको तयारी कमजोर देखिन्छ ।
छिमेकी देश भारतमा तीव्र रूपमा बढेको संक्रमितको संख्याको असरका कारण नेपालमा पनि कोरोनाको दोस्रो लहर सुरु भयो । दिन प्रतिदिन रेकर्ड बनेको संख्याले अवस्था भयावह बनेको संकेत गर्दछ ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको प्रेस व्रिफिङमा हाल बढिरहेको संक्रमणको दर नरोक्ने हो भने १ महिना पछि प्रतिदिन १ लाख ९३ हजार व्यक्ति संक्रमित हुन सक्ने प्रक्षेपण गरिएको छ ।
डा. अर्पणा श्रेष्ठले हाल नेपालमा बढिरहेको संक्रमणको दर जनसंख्याको आधारमा छिमेकी देश भारतको भन्दा धेरै रहेको र गत हप्ताको तुलनामा यस हप्ता २ सय २८ प्रतिशत बढी संक्रमित फेला परेको बताउनुभयो ।
यस्तो हुनुको कारणहरु यस्ता छन
नेपालमा अहिले परीक्षण गरिएको तुलनामा संक्रमित हुनेको दर निकै बढी हो । संक्रमितको दर ३० प्रतिशत माथि पुगिसकेको छ । यो संक्रमित थपिने गति भारतको भन्दा तीव्र हो ।
१ जना व्यक्तिले दुई भन्दा धेरै व्यक्तिमा संक्रमण सारिरहेको देखिन्छ । जसले अबका दिनमा संक्रमणको फैलावट हुने आधारहरू निकै बढाएको देखाउँछ ।
सरकारले वैशाख १६ गते देखि निषेधाज्ञा गरेसँगै काठमाडौं छाड्नेको संख्या बढेको छ । फकर्नेहरूले न सामाजिक दूरीको पालना गरे, न त स्वास्थ्य सुरक्षा सावधानी नै अपनाए । घुइँचोमा धेरै व्यक्तिमा संक्रमण फैलिएको पनि हुन सक्छ ।
यस्तै, सरकारले निःशुल्क रूपमा वितरण गरेको खोप लगाउने स्थानहरूमा पनि भिडभाड बढेको देखियो । मानिसहरू बिहान २ बजे देखि खोप लगाउने टोकनका लागि लाइन बस्न पुगेका थिए ।
भिडभाड बढेको र व्यवस्थापन नभएको भन्दै विरोध हुन थाले पछि १६ गते देखि खोप वितरण नै रोकिएको छ ।
स्वास्थ्य मन्त्रालयले संक्रमितको संख्या बढ्ने आँकलन गरिरहँदा जनशक्ति, आईसीयू, र भेन्टिलेटरको संख्या भने विस्तार गर्न सकेको छैन ।
निजी अस्पतालको पनि जोड्दा देशभर १२ सय ३ आईसीयू र ४ सय ९५ वटा भेन्टिलेटर छन् ।
दिनँहु क्रिटिकल केयरमा संक्रमितको संख्या बढ्दा मृत्यु हुनेको संख्या पनि बढ्दै गइरहेको छ । विश्वमा नै बढी संक्रमण देखिने देशहरुमा माथिल्लो स्थानमा रहनुले नेपाल गम्भीर परिस्थितिमा भएको पुष्टि गर्छ ।
यो अवस्थालाई तत्काल सम्बोधन गर्ने गरी सरकार अघि बढ्नुपर्ने देखिन्छ भने जनस्तरबाट पनि उत्तिकै सावधानी जरुरी छ ।