कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

एमसीसीबारे जनतामा फैलाइएकाे भ्रम नचिरे कांग्रेसले चुनाव जित्न गाह्राे छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले एमसीसीबारे जनतामा फैलाइएको भ्रम चिर्न नसक्ने हो भने कांग्रेसले आगामी निर्वाचनमा पराजय व्यहोर्ने बताएका छन्।

बिज्ञापन

एमसीसी राष्ट्रको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिंजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने उनले बताए। “सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस्, कांग्रेस एमसीसीको पक्षमा उभियो र संसदबाट अनुमोदन गर्न सफल भयो”–कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाणले भने–“एमसीसी अनुमोदन गरेकै कारण निर्वाचनमा हुने क्षतिलाई रोक्नका लागि मतदातामाझ प्रष्ट पार्नु जरुरी छ।”

नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार आयोजना गरेको जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले एमसीसीबारेको भ्रम चिर्न नसके आगामी निर्वाचनमा कांग्रेसको पराजय हुने खतरा रहेको बताए। सञ्चारकर्मीहरुले पनि  एमसीसीबारे सत्यतथ्य उजागर गर्नुपर्नेमा उनले जोड दिए। उनले सरकारमा रहेका दल र तिनका नेताहरुले नै एमसीसीबारे भ्रम फैलाएको भन्दै संसदले अनुमोदन गरेको व्याख्यात्मक घोषणामा एमसीसीमै भएकै कुरा उल्लेख भएको बताए।

बिज्ञापन

विद्युत प्रसारण लाइन निर्माण गरि विदेशमा विद्युत निर्यात गरेर मुलुकको व्यापार घाटालाई कम गर्न एमसीसी परियोजना महत्वपूर्ण हुने र यसबाट ठूलो संख्यामा रोजगारी पनि सिर्जना हुने भएकाले यो मुलुकको हितमा रहेको उनले दावी गरे।

बिज्ञापन

गृहमन्त्री खाणले आगामी निर्वाचन कांग्रेसले नजित्ने हो भने मुलुक अँध्यारो युगतर्फ प्रवेश गर्ने बताए। “लोकतन्त्रको रक्षा र नागरिक तथा प्रेस स्वतन्त्रताका लागि पनि कांग्रेसको जित आवश्यक छ”–उनले भने ।

उनले राजनीतिको मूलधार बाहिर रहेका शक्तिलाई पनि संविधान स्वीकार गरेर मूलधारमा आउन आग्रह गरे। “हामी त्यस्ता शक्तिहरुसँग पनि सहकार्य गर्न तयार छौं, मूल धारमा नआएका शक्तिलाई पनि अहिले राज्यले सुरक्षाको प्रवन्ध गरिरहेको छ”–गृहमन्त्री खाणको भनाइ छ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0