कञ्चनपुर: कञ्चनपुरमा सत्ता गठबन्धनबीच भागबन्डामा कुरा नमिलेपछि आसन्न स्थानीय तह निर्वाचनमा नयाँ समीकरण बन्ने भएको छ ।
सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाल कांग्रेसले आफूहरूलाई पेल्न खोजेको भन्दै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर चुनावमा जान लागेका हुन् ।

दुई पार्टीका नेताहरूबीच कांग्रेसबाहेक मिलेर जाने सहमति अन्तिम चरणमा पुगेको बताइएको छ । दुई पार्टीका नेताहरूको बैठक चलिरहेको छ । कञ्चनपुरका नौ स्थानीय तहमध्ये माओवादीले तीन र एकीकृत समाजवादीले तीन तहमा दाबी गरेपछि कांग्रेस सहमति गर्न तयार नभएको हो ।
कञ्चनपुर कांग्रेस नेता एनपी साउद र रमेश लेखकको गृहजिल्ला हो । उनीहरू दुवैले आ–आफ्नो निर्वाचन क्षेत्रका पालिका माओवादीलाई दिन नमानेपछि सहमति नभएको बताइएको छ ।

माओवादी केन्द्रले भीमदत्तनगर र अरू पालिकामा कांग्रेसबाहेकको चुनावी तयारी गर्न निर्देशन दिएको भीमदत्तनगरका सचिव दशरथ भण्डारीले बताए ।