२०४६ मा प्रजातन्त्र पुनर्बहालीयताका कुनै पनि चुनावले यो तथ्य बदल्न सकेनन् । अघिल्लो चुनावलाई नै हेरौं न । देशभरि कांग्रेसले नराम्रो क्षति व्यहोर्यो । आक्रोशित नेता कार्यकर्ताले सभापति शेरबहादुर देउवाको राजीनामा मागे । देउवा उल्टै कड्किए, ‘तिमेरु चुनाव हारेर आउने । अनि राजीनामा मैले दिनुपर्ने ’
हुन पनि रामचन्द्र पौडेल, शेखर कोइराला, विमलेन्द्र निधि, रामशरण महत, पूर्णबहादुर खड्कालगायत शीर्षस्थहरु सबका सब चुनावमा हारेका थिए । नयाँ पुस्ता आउनुपर्छ भन्ने विश्वप्रकाश शर्मालगायत पनि उनकै शब्दमा ‘उपविजेता’ मात्रै बनेका थिए । तत्कालीन महामन्त्री शशांक कोइराला, नेता गगन थापा, मिनेन्द्र रिजाललगायत जितेर त आए, तर देउवालाई रोक्न सक्ने कोही भएनन् । देउवालाई ज्योतिषीले सातपल्ट प्रधानमन्त्री बन्छौ भनेका छन् ।
२०७४ मा प्रकाशमान सिंहलाई हराएर संसदीय दलको नेता चुनिँदासम्म उनलाई संसदको यो कार्यकालमा आफ्नो पालो आउला भन्ने कमै लागेकै थियो होला । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली असंवैधानिक रुपमा दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्दा देउवाका लागि सत्तारोहणको ढोका खोल्दै गयो ।यति हुँदैगर्दा प्रधानमन्त्री समेत रहेका देउवालाई पार्टीभित्र हेर्ने स्पष्ट दुई दृष्टिकोण छन् । एक पक्ष देउवाको महिमागान गाउँछ । देउवा प्रधानमन्त्री बनेको समय देशलाई र सभापति हुँदा कांग्रेसले अग्रगति लिएकोे दलिल पेश गर्छ । अर्को खेमाले देउवाप्रति बनाउने दृष्टिकोण भने नितान्त भिन्न छ ।
पार्टीमा उनी बलियो हुँदा कांग्रेस कमजोर हुँदै गएको तथा सत्ताको बागडोर सम्हाल्दा दललाई थप क्षति पुगेको संस्थापनइतरका नेताहरुको विश्लेषण छ । आम नागरिकमा पनि सम्भवतः बहुसंख्यकले देउवाको शासन सत्ता सञ्चालन शैलीलाई मन पराउँदैनन् । कतिपयमा उनी पराजित भएको देख्ने अभिलाषा पनि छ । तर, कांग्रेसको एउटा तप्का र कतिपय नागरिकको रुचिले देउवाको भूमिका कमजोर हुने देखिन्न । कारण हो–डडेलधुरामा देउवा थप शक्तिशाली बन्नु । आसन्न निर्वाचनलाई लिएर विश्लेषण गर्दै कतिपय भन्छन्, ‘२०४८ सालपछिकै सर्वाधिक मतान्तरले देउवाले आसन्न निर्वाचनमा जित्दैछन् ।’ प्रधानमन्त्री पद, गठबन्धनको मियो, स्थानीय तहमा बढेको शक्ति, वृद्ध उमेरका कारण प्राप्त सहानूभूति, कमजोर एमाले, प्रभाव विस्तार गर्न नसकेको कांग्रेस बीपी लगायतका कारणले देउवाले सातौं पटकको चुनावमा झन् फैलिने अवसर पाएका छन् ।
देउवा २०४८ सालपश्चात् निरन्तर सबै निर्वाचनमा डडेलधुराबाट विजयी हुँदै आएका छन् । उनी हालसम्म ६ पटक निर्वाचित भइसके । मंसिर ४ को निर्वाचन उनका लागि सातौं प्रतिस्पर्धा हुनेछ । संसदीय निर्वाचनमा देउवाले २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा जीत निकालेर रेकर्ड कायम राख्न सफल भएका छन् । उनी सबैभन्दा कम मतान्तरले विजयी भएको ०६४ सालको पहिलो संविधान सभाको पहिलो निर्वाचनमा हो । तत्कालीन समयमा उनले माओवादीका उम्मेदवार खगराज भट्टलाई एक हजार ३६८ मतान्तरले पराजित गरेका थिए भने २०७४ मा ६ हजार ९२९ मतान्तरले हराए । अन्य निर्वाचनमा मतान्तर अझ बढी छ ।