कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिका अन्तरगतको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।
बिहीबार गौरीगंगा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–४ का २७ वर्षीय लालितजंग रावतको मृत्यु भएको थियो।

दिउँसो ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ३७२९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको म ८ प ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए।
ठक्करबाट घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएका थियो।

यसपछि मृतकका आफन्तले क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार बिहानैदेखि लम्कीको भल्का, स्याउले र बलियामा टायर बालेर सडक अवरुद्ध पारेका छन्।
यता कैलाली प्रहरीले भने ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ।