कैलालीमा म्यादी प्रहरीका लागी ११ हजार भन्दा बढीले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीमा २ हजार ४५७ जना म्यादी प्रहरीकालागि ११ हजार २ सय २२ जनाले म्यादीका लागि आवेदन दिएका हुन्।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सरकारले म्यादी प्रहरी भर्ना गर्न चैत ६ गते देखी चैत ११ गते सम्म दरखास्त दिने समय तोकेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी उपरिक्षक वेदप्रकाश जोशीले बिहीबार सम्म ३ हजार ६६ महिला र ७ हजार ७८ गरि १० हजार १ सय ४४ जनाले आवेदन दिएको बताए ।
उनले आज पनि झन्डै २ हजार भन्दा बढकिो आवेदन आउँने हुदाँ त्यो संख्या १२ हजार भन्दा बढी पुग्ने बताए । म्यादी प्रहरीको आवेदन दिनेमा आर्थिक अवस्था कमजोर भएका तथा उच्च शिक्षा पास गरेका युवायुवतीहरुको संख्या बढी छ। आगामी बैशाख ३० गते हुन गइरहेको स्थानिय चुनावको सुरक्षाका लागी म्यादी प्रहरी भर्ना आह्वान गरेसँगै कैलालीमा म्यादी प्रहरीका लागी आवेदन दिनेको संख्या प्रदेशका अन्य जिल्ला भन्दा उच्च छ । बेरोजगार भएर घरमा त्यतिकै बसेका युवायुवतीहरु थोरै दिनका लागी भएपनि रोजगार बने चाहना राखेर भर्ना हुन आएका हुन् ।
बेरोजगारीको समस्या र घर खर्च चलाउनकै लागी म्यादी प्रहरीमा भर्नाका लागी आवेदन दिरहेको उनीहरुले बताएका छन् । म्यादी प्रहरीमा भर्नाका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले दर्खास्त दिन सक्नेछन् । विशेष गरी पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने प्रवक्ता तथा प्रहरी उपरिक्षक जोशीले बताए । म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन्। ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ।
पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत ७ हजार २००, पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चबापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ । छनोट प्रक्रिया भने १५ चैतबाट प्रारम्भ हुने र नतिजा २२ चैतसम्म प्रकाशन गरिने जनाइएको छ। म्यादी प्रहरीमा आर्कष सेवा सुविधा नभएपनि खाली फुर्सदमा घरमा बसेर अनावश्यक रुपमा समय बिताउनुु भन्दा केही गरेपछि आफू र परिवारलाई आर्थिक रुपमा सहयोग होला की भन्ने सोच अधिंकाश आवेदन दिएका धेरै युवाहरुको छ ।