कैलाली: कैलालीमा सत्तारुढ गठबन्धनबिच अझै सहमति हुन सकेको छैन्। शनिवार बसेको सत्ता गठबन्धनमा रहेका दलहरूको बैठकले कैलालीमा तालमेललाई अन्तिम रूप दिने बताएपनी अझै सहमति जुटाउन नसकेको हो। सहमतिको अन्तिम खाकामा माओवादी र एकीकृत समाजवादीले असहमति जनाएपछि शनिवार सहमति जुट्न नसकेको जनाइएको छ ।
शनिवार कैलालीको विषयमा छलफल टुङ्गो नलागेपछि आइतबार (आज)पुनः निर्णायक छलफल गर्ने भनिएको छ। कैलालीका १३ स्थानीय तहमध्ये नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिका सहित सात पालिकामा प्रमुख पाउने, माओवादी केन्द्रले चार पालिकामा प्रमुख पाउने र एकीकृत समाजवादीले दुई पालिकामा प्रमुख पाउने गरी खाका प्रस्तुत गरेको थियो ।
तर, उक्त खाकामा माओवादी केन्द्र र एकीकृत साजवादीले असहमति जनाएपछि सहमति हुन नसकेको हो । कैलालीमा १३ स्थानीय तह मध्ये अघिल्लो स्थानीय तहमा कांग्रेसले चार पालिका र माओवादी केन्द्र २ पालिकामा विजयी भएको थियो । शनिवार नेपाली कांग्रेसले कांग्रेसले जितेको पालिका बाहेक तीन पालिका र माओवादीले जितेका पालिका बाहेक २ पालिका दिने र एकीकृत समाजवादीलाई दुई पालिका दिने गरी खाका प्रस्तुत गरेको थियो ।
तर, माओवादी र एकीकृत समाजवादीले आफूहरूको भाग कम भएको भन्दै असहमति जनाए पनि शनिवारको बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।माओवादी कैलालीका इन्चार्ज हरि ज्ञवालीले हामीले भन्दा कांग्रेसले झन्डै आधा बढी राख्ने गरी खाका प्रस्तुत भएको र माओवादीले अन्तिममा पाँच स्थानीय तह सम्ममा समझदारी गर्न सक्ने बताए।
तर, चारमा हामी मान्दै मान्दैनौँ’ उनले भने ‘ हाम्रा लागि चार पालिकामा सीमित हुनु भन्दा मित्रवत् प्रतिस्पर्धा गर्न उपयुक्त छ ।’ धनगढी उपमहानगरपालिका सहित टिकापुर लम्की चुहा, गोदावरी,बर्दगोरीया, जोशीपुर र जानकी गाउँपालिका प्रमुख नेपाली कांग्रेसले राख्ने र गौरीगङ्गा नगरपालिका ,भजनी नगरपालिका, कैलारी गाउँपालिका, मोहन्याल गाउँपालिका माओवादी केन्द्र लाई दिने गरी खाका प्रस्तुत गरेको थियो ।
यस्तै एकीकृत समाजवादीले पनि घोडाघोडी नगरपालिका र चुरे गाउँपालिमा सीमित गर्न खोजिएको भन्दै असहमति जनाएको थियो । एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशका सचिव दिनेशराज सुबेदीले कम्तीमा तीन पालिका चाहिन्छ भने। उनले भने हाम्रो माग चार पालिका हो । सहमतिकालागि हामी तीन पालिका सम्ममा चित्त बुझाउन सक्ने भन्दै उनले कांग्रेस र माओवादीले पहिल्यै प्रारम्भिक खाका बनाएर एकीकृत समाजवादीलाई पेल्ने ढङ्गबाट प्रस्तुत भएको उनले बताएका छन् ।