ओमिक्रोन भेरियन्ट र यसका उपप्रजातिहरुका कारण कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फेरी फैलिएको छ । हरेक दिन केही सयको संख्यामा नयाँ संक्रमित थपिने गरेका छन् । नयाँ संक्रमितमा बालबालिका समेत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार शनिबार थपिएका ३३५ जना संक्रमितमा ७ जना १० वर्षमुनिका बालकालिका थिए भने ११ देखि २० वर्षका १९ जना थिए । मन्त्रालयका अनुसार साउन पहिलो सातामात्र २० वर्ष मुनिका १४८ जनामा संक्रमित भएका छन् ।

बालबालिका पनि संक्रमित हुन थालेपछि स्वास्थ्य मन्त्रालयले विद्यालयमा पनि मास्कको अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन पनि संक्रमण फैलाउने माध्यम विद्यालय बन्नेतर्फ सतर्क हुनुपर्ने बताउँछन् ।
उनका अनुसार अहिलेसम्मको तथ्यांक हेर्दा बालबालिका कोभिडबाट प्रभावित भएपनि मानवीय क्षति कम छ । तर बालबालिकाको माध्यमबाट संक्रमण फैलिन सक्ने भन्दै उनले भने, ‘ललितपुरको विद्यार्थी काठमाडौं र काठमाडौंको बालबालिका भक्तपुर पढ्न जाने अवस्था छ । त्यसैले बालबालिका संक्रमण सार्ने माध्यम बन्ने जोखिम ररिरहन्छ ।’
