काठमाडौँ । कोरोना महामारीले थोरै राहत मिलेको समयमा फेरि नयाँ भाइरसको संक्रमणदर बढेपछि विश्वव्यापी रुपमा चिन्ता बढेको छ । अहिले अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा नयाँ भाइरस अर्थात् मङ्कीपक्सको संक्रमण फैलिएपछि मानिसहरुमा चिन्ता बढेको हो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म ८० जनालाई ‘मङ्कीपक्स भाइरस’ पुष्टि भइसकेको छ भने ५० जना शङ्कास्पद बिरामी भएका छन्। बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीका अनुसार मङ्कीपक्स भाइरसको पहिलो बिरामी अफ्रिकी मुलुक नाइजेरियाबाट आएका हुन् ।
संगठनले भाइरस प्रभावित देश तथा अन्य निकायसँग बैठक बसेर भाइरस कम गर्न काम गरिरहेको जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनले हालसम्म मङ्कीपक्स भाइरस ११ राष्ट्रमा फैलिइसकेको जानकारी पनि दिएको छ।
बाँदरमा लाग्ने ‘मङ्कीपक्स भाइरस’ मानिसमा पनि सरेपछि यसको चर्चा सुरु भएको हो । बेलायत र स्पेनमा त्यसको प्रभाव झन् बढ्न थालेको छ ।
युनिभर्सिटी अफ साउथह्याम्प्टनमा विश्वव्यापी स्वास्थ्य समस्याबारे अनुसन्धान गर्ने वरिष्ठ अनुसन्धानकर्ता माइकल हेडले अहिलेको समयमा यो भाइरसको संक्रमण किन फैलिरहेको छ भन्ने बारे जानकारी निकै कम भएको बताएका छन् । तर कोरोना भाइरसको महामारीमा जस्तै डराइहाल्नुपर्ने स्थिति भने नरहेको उनको भनाई छ ।