कैलाली : नगर विकास समिति धनगढीले खोलानालाको जग्गा बिक्री गर्दै वितरण गरेका लालपुर्जा पनि खारेज गर्नुपर्ने माग उठेको छ।
उपमहानगरपालिको छानविन उपसमितिले लालपुर्जा पाएका तर खोलामै घर बनाएका व्यक्तिको नाम अतिक्रमण गर्नेको सूचीमा नराखेपछि उपमहानगरवासीले यस्तो माग गरेका हुन्।
छानविन उपसमितले तयार पारेको प्रतिवेदनमा लालपुर्जा नभएका तर खोलानाला अतिक्रमण गरेका व्यक्तिको नाम मात्रै छ।‘खोला अतिक्रमण गर्दै संरचना निर्माण गरेका व्यक्तिको नाम मात्रै उपमहानगरपालिकाले प्रतिवेदनमा राखेको छ।
खोलानालाकै जग्गा अतिक्रमण गरेर अहिले लालपुर्जा पाइसकेका व्यक्तिको संख्या बढि भएकाले उनीहरुको लालपुर्जा खारेज गर्नुपर्छ,’ धनगढीका एक स्थानीयले भने।
धनगढी उपमहानगर क्षेत्र भएर बग्ने कैलाली, सुकुटी, शिवनगर, सेतो पुल लगायतका खोला अतिक्रमण गर्दै धेरैले लालपुर्जा नै बनाइसकेका छन्।
नगर विकास समिति धनगढीले ९ सय ३१ विघा जग्गाको लालपुर्जा बिक्री गरेको छ। जसमध्ये अधिकांश जग्गा खोलानाला किनारको रहेको छ।
धनगढीमा २०२१ सालको नापीको आधारमा खोलानाला, नहर र कुलाको क्षेत्र खाली हुनुपर्ने उपमहानगरवसीको माग छ।