संसद् विघटनको विरोधमा कैलालीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका २ साडेपानी बजारको चोकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरीएको हो ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपा माओवादी केन्द्र निकट भातृ सङ्गठन योङ कम्युनिस्ट लिग नेपाल ९वाई सेल०ले आईतबार विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेको हो । राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।
जनताको स्वास्थ्य र संविधान माथिको खेलबाड भारी पर्नेछ,जनतालाई अक्सिजन,औषधी र आई।सि।युको तत्काल व्यवस्था गर, जनताको जीवन अस्त व्यस्त,केपी एण्ड कम्पनी प्रतिगमनमा व्यस्त, जनतालाई चुनाव होइन अक्सिजन औषधी र आई।सि।युको आवश्यकता हो जस्ता चर्को नाराबाजी गरेका थिए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन सदर गरेर निर्वाचन मिति घोषणा गरेपछि उनीहरूले पुत्ला दहन र प्रदर्शन गरेका हुन् । सर्वोच्च अदालतले पुनः स्थापना गरेको संसद्को दोस्रो पटकको विघटन सार्वभौम जनतामाथि गरिएको निरङ्कुश र अधिनायकवादी डकैती रहेको वाई सेल नेपालका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य विनोद अधिकारीले बताए ।
प्रधानमन्त्री ओलीले गैर संवैधानिक ढङ्गले संसद् विघटनको कदम चालेको भन्दै उनको निरकुंश प्रकृतिविरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकजुट भएर प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । साथै वाई सेल नेपालले साडेपानी बजारमा विभिन्न ठाउँमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको उल्टो फोटो समेत टाँसेका छन् ।
आईतबार मात्र पाँच विद्यार्थी सङ्गठनहरूले सरकारले जनस्वास्थ्यमाथि गरेको खेलवाड र संसद् विघटनको निर्णयको प्रतिरोध गर्न आह्वान गरेका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल समूह, जसपा र राष्ट्रिय जनमोर्चाका विद्यार्थी नेताहरूले संयुक्त विज्ञप्ति निकालेर सो आह्वान गरेका छन् ।
उनीहरूले सरकारले जनतामाथि गरेको भन्दै उनीहरूले आ–आफ्नो ठाउँबाट प्रतिरोध गर्न सम्पूर्ण विद्यार्थी तथा आम जनसमुदायमा अनुरोध गरेका छन् । सोही बमोजिम विभिन्न सङ्गठनहरूले आफ्नो ठाउँमा संसद् विघटनको निर्णय विरुद्ध विरोध प्रदर्शन गर्ने तयारी गरीरहेका छन् ।