टोकियो — टोकियो ओलम्पिकका प्रमुख कार्यकारी पदाधिकारीले शनिबार यो खेल महाउत्सव कोभिड–१९ को जोखिमबाट सम्पूर्ण खेलाडी र जापानी जनताका लागि सुरक्षित रहेको बताउँदै प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको दाबी गरेका छन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का उपाध्यक्ष तथा टोकियोमा आईओसीको प्रमुख संयोगक जोन कोट्सले भर्चुअल प्रेस सम्मेलनमा प्रतियोगिता हुने निश्चित भएको बताए ।

टोकियो ओलम्पिक जुलाई २३ बाट अगस्ट ८ सम्म हुँदै छ, तर आयोजक सहर टोकियो आफैं आपतकालीन स्थिति घोषित रहेको छ । टोकियो ओलम्पिक निर्धारित कार्यक्रमअनुसार एक वर्षअगाडि हुनुपर्नेमा त्यसलाई कोरोना भाइरस संक्रमणको महामारीबीच सारिएको थियो । यसपल्ट भने प्रतियोगिता सार्ने वा स्थगित गर्ने कुनै योजना भएको बताउँदै कोट्सले भने, ‘आठ वर्षको कडा मिहिनेतपछि हामी सम्पूर्ण तयारीको अन्तिम चरणमा छौं ।’
अस्ट्रेलियाली आईओसी पदाधिकारीले जापानी आयोजकसँग मिलेर सुरक्षित प्रतियोगिता हुने दाबी थपे । उनले भने, ‘प्रतियोगिता पूर्णतः सुरक्षित हुनेछ र जति पनि सहभागी हुनेछन्, त्यी सबै सुरक्षित रहनेछन् । यस्तै जापानी जनताका लागि यो सुरक्षित प्रतियोगिता हुनेछ । यसपल्टको प्रतियोगिता पक्कै पनि फरक र विषम परिस्थितिमा हुन लागेको छ । हामीले अहिलेसम्म आफ्नो इतिहासमा कहिले पनि प्रतियोगिता स्थगित गरेका छैनौं ।’
ओलम्पिक इतिहास
ओलम्पिक इतिहासमा अहिलेसम्म तीन अवसरमा मात्र प्रतियोगिता हुन सकेको छैन । तीनै अवसर पहिलो र दोस्रो विश्वकप युद्धताका भएको थियो ।
सन् १९१६ मा पहिलो विश्वयुद्ध र सन् १९४० तथा १९४६ मा दोस्रो विश्वयुद्धका कारण हुन सकेको थिएन । टोकियो ओलम्पिक आयोजना कमिटीका प्रमुख सेइको हासिमोतोले केही जापानी प्रतियोगिताको आयोजनालाई लिएर सशंकित रहेको स्विकार्दै जोखिमबाट बच्न सबै उपाय अपनाइने बताइन् ।
जापानमा कोरोना भाइरस संक्रमणका महामारीले धेरै क्षति पुर्याएको छैन । तर पछिल्लो समय संक्रमणको दोस्रो लहरले भने टोकियोलाई बढी प्रभावित पारेको छ । टोकियोको ९ क्षेत्रमा अहिले तत्काल आपतकालीन अवस्था लागू छ । यो मे ३१ सम्म कायम रहनेछ । हासिमोतोले विदेशी पाहुनाको संख्यामा कमी गरिने र प्रतियोगिता सुरु भएयता यसले जापानी समाजमा सकारात्मक धारणा बढ्ने बताइन् । प्रतियोगिताका क्रममा ६० हजारसम्म कोभिड परीक्षण पनि गरिने उनले बताइन् ।