डेगु निको भइसकेकाहरूमा कमजोरी, हाडजोर्नी तथा मांसपेशी दुखाइ, कपाल झर्नेलगायत समस्या देखिएको छ । संक्रमणमुक्त भए पनि रोग प्रतिरोधक क्षमता कम भएका वा दीर्घरोगीमा यसको असर लामो समय रहने विज्ञ बताउँछन् । ६ महिना वा त्योभन्दा बढी समयसम्म त्यस्ता स्वास्थ्य समस्या देखिन सक्ने उनीहरूको भनाइ छ ।
हाल सम्म ७७ जिल्लामै २७ हजार ५ सय ६९ जनामा डेंगी संक्रमण देखिएको छ भने ३६ जनाको मृत्यु भएको छ ।
डेंगी निको भइसकेका व्यक्तिहरूको शरीरमा पहिलो स्तरमा तागत फर्किन बढी समय लागिरहेको देखिएको छ । ‘निको भइसकेकामध्ये धेरैजसो अत्यधिक कमजोरीको समस्या लिएर आइरहेका छन्,’ डा. राजेश साहले भने, ‘रोग निको भइसकेपछि सामान्यतया चार साता वा कसै–कसैमा योभन्दा बढी समयसमेत कमजोरीको समस्या देखिएको छ ।’ उनका अनुसार कमजोरी मात्र नभई, जोर्नीलगायत शरीर दुख्ने, खाना नरुच्नेलगायत समस्या बढी पाइएको छ ।
‘संक्रमणपछि सामान्यतया एक–डेढ महिनासम्म छाला सुक्खा हुने, चिलाउने, बिमिरा देखिने हुन सक्छ,’ उनले भने, ‘तर कपाल झर्ने समस्या स्थायी भने हुँदैन । छाला र कपालसँग सम्बन्धित समस्या सामान्यतया एक डेढ महिनापछि आफैं निको हुन्छ ।’ यस्तो अवस्थामा पौष्टिक आहार र झोलिलो पदार्थ पर्याप्त सेवन गर्नुपर्ने उनले बताए ।
यस्तो समस्याको निश्चित उपचार नरहेको र समयक्रममा आफैं निको हुने उनको भनाइ छ । ‘हाडजोर्नी, मांसपेशी दुखाइ भएमा गह्रौं वस्तु उचाल्नु हुँदैन,’ डा. ठाकुरले भने, ‘यस्तो समस्या देखिए नियमित योग र सामान्य ‘स्ट्रेचिङ’ गर्दा हुन्छ ।’
निद्रा नलाग्ने, मुटुको चाल बढ्ने, स–साना कुरामा झिँझो लाग्ने, रिंगटा लाग्ने, आँखाको गेडी दुख्ने, मानसिक समस्या, चिन्ता, काममा मन नलाग्ने, आत्तिने, छालामा बिमिरा देखिने, चिलाउने जस्ता समस्या लामो समयसम्म देखिन सक्ने विभिन्न अध्ययनले देखाएको उनले बताए ।