दार्चुला: महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास २, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले माफी मागेको छ।
भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १६ लाख रुपैयाँ नेरु राहत उपलब्ध गराएको छ ।धारचुला–लिपुलेक–कैलाश मानसरोवर सडक खण्डअन्तर्गत नज्याङ–लखनपुर भीरमा भारतीय पक्षले बम विस्फोट गराउँदा बतासिएर वारि तम्बाकुमा आइपुगेको ढुंगा लागेर शुक्रबार बिहान महराको घटनास्थलमै मृत्यु भएको थियो ।
ढुंगा लागेर पवनकी दिदी १४ वर्षीया सरिना महरा घाइते भएकी छन् । उनीहरू बुबा हिक्मतसिंहसँगै व्यासकै थी गाउँबाट महाकालीको किनारैकिनार दुम्लिङस्थित घर फर्कंदै थिए । नेपालको प्रशासन र प्रभावित क्षेत्रका बासिन्दालाई पूर्वजानकारी नै नदिई भारतीय पक्षले शुक्रबार बिहान विस्फोट गराएको थियो ।
विस्फोट गराइएको स्थान दुम्लिङस्थित सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) र प्रहरीको सीमा सुरक्षा चौकीबाट करिब ४ घण्टा टाढा पर्छ भने छाङरुस्थित सशस्त्र प्रहरीको गुल्मबाट करिब १५ किमि तल पर्छ । व्यास र दुम्लिङका सुरक्षा संयन्त्रले बालकको मृत्युबारे केही घण्टापछि मात्रै थाहा पाएका थिए ।
‘विस्फोट गर्ने सूचना कतैबाट आएको थिएन,’ पवनका बुबा हिक्मतले भने ।बालकको मृत्युपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पिथौरागढस्थित जिल्लाधिकारी आशिष चौहानलाई टेलिफोन गरेर आपत्ति जनाएका थिए । सीमा क्षेत्रमा भारतीय पक्षबाट भएको ज्यादतीलाई लिएर स्थानीय पनि आन्दोलित भएका थिए ।