प्रधानमन्त्री शेरबहादुर देउवा चैत २४ गते धनगढी आउँदैछन् । धनगढीमा निर्माण भएको सिटी हलको उद्घाटन, भूमिहीनलाई लालपूर्जा वितरणका लागि उनी यहाँ आउन लागेको नेपाली काङ्ग्रेस कैलालीले जानकारी दिएको छ ।
प्रधानमन्त्री देउवा विहान जहाजमार्फत धनगढी पुग्ने जनाइएको छ। उनले धनगढी उपमहानगरपालिका–८ मा निर्माण भएको सिटी हल (सभा गृह)को उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले जानकारी दिए । संघीय सरकारको २५ करोड २६ लाख रुपैयाँ लगानीमा सिटी हल निर्माण कार्य पूरा भएको भएको छ ।

ठूला सभा, सम्मेलन आयोजना गर्ने उद्देश्यका साथ धनगढी उपमहानगरपालिका–८ मा सिटी हल निर्माण गरिएको हो । सिटी हलमा साढे छ सयभन्दा बढी क्षमताको एउटा ठूलो र अढाई सय क्षमताको अर्को सानो गरी दुई वटा सभा हल रहेको छ । यसैगरी, सय/डेढ सय सवारी साधन पार्किङ गर्न सकिने गरी अन्डर ग्राउण्ड पार्किङको व्यवस्था गरिएको छ । भीआइपी कक्ष, लब्बी लगायतका संरचना सिटी हलमा रहेको छ । २०७६ माघमा सिटी हल निर्माणको ठेक्का सम्झौता भएको थियो ।
प्रदेशकै गौरवको एक योजनाको रुपमा सिटी हल तयार भए पनि कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने तय भइसकेको छैन । निर्माण कम्पनीले सिटी हल तयार पारेर सञ्चालनका लागि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ ।
