कैलालीको धनगढीमा निर्माणाधीन सिटी हलको चैतको अन्तिमसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ। २०७६ माघदेखि निर्माण सुरु भएको सिटी हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।
संघीय सरकारले २५ करोड २६ लाखमा निर्माण गरिरहेको सिटी हलको कार्य सम्पन्न पछि धनगढी उपमहानगरपालिकाको मातहतमा आउने बताईएको छ। धनगढी सिटी हलको निर्माण कार्य ९८ प्रतिशत सम्पन्न भएको इन्जिनियर प्रमोद पन्तले बताए।
काठमाडौंको राष्ट्रिय सभा गृहको मोडलमा धनगढीको सिटी हल निर्माण भएको हो, इन्जिनियर पन्तले भने,-‘सिटी हलमा भिआईपी कक्ष, सेविनार हल सानो, एक हजार कुर्सी अटाउने हल अण्डर गराउण्ड पार्किङ्गको व्यवस्थासहित रहेको छ।’बाहिरीको फिनिसिङको काम यो हप्ता सम्पन्न गरिने गरि काम भईरहेको उनले बताए।
चैत महिनाको अन्तिम सम्पन्न सिटी हलको सम्पुर्ण काम सकिन्छ, इन्जिनियर पन्तले भने,‘विद्युतीय काम २र३ दिनमा सकिन्छ। एसी चिनबाट आउने भएकाले अवको केही दिनमा त्यो कार्य पनि सम्पन्न हुन्छ।’ गत असारसम्म निर्माण अवधि तोकिएको थियो तर कोरोना महामारीका कारण काम गर्न नसकिएर म्याद थप गरेर चैत मसान्तसम्म तोकिएको छ।
सिटी हलको निर्माण कार्य एमके रोयल जेबीले लगेको छ। सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढी र धनगढी उपमहानगरपालिकाको समन्वयमा सिटी हल निर्माण भईरहेको छ।