८ वैशाख, काठमाडौँ । २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको धरहराको पुन: निर्माणपछि टुप्पोमा गजुर राखिएको छ । वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएपछि धरहराको टुप्पोमा बुधबार गजुर राखिएको नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले अनलाइनखबरलाई बताए ।
उनले भने, ‘ आज धरहराको टुप्पामा ३३० केजीको सुनको जलप लगाएको गजुर राखिएको छ, जसमा ९५ तोला ३ लाल सुन रहेको छ।’ उनका अनुसार टुप्पामा गजुर राख्नुअईघि २१ तलामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिव लिङ्ग र नयाँ गजुरको पूजा गरेका छन् ।

भूकम्पले ढलेको धरहराको पार्किङ र बगैँचातर्फको काम भने सकिएको छैन । वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।
गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको हो । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङलगायतका सुविधा हुनेछन् । पार्कतर्फ काम नसकिएपछि भूकम्पले क्षतिग्रस्त सम्पदा फेरि उभिनु गौरवको विषय भएकाले वैशाख १२ गते अघि नै उद्घाटन गर्न लागिएको इन्जिनियर मानन्धरले बताए ।
धरहरा बाहिरबाट हेर्दा पुरानै डिजाइनमा बने पनि भित्र सुविधासम्पन्न छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको छ । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । प्राधिकरणका अनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट छ ।
धरहराको टावरमा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । अहिले भग्नावशेष रहेको असली धरहराको भागलाई सिसाले ढाकेर संरक्षण गरेर राख्ने योजना छ । अहिले भने सिसाभित्र हालिएको छैन ।