अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर विनोद शाही मृत्यु प्रकरणमा किटानी जाहेरी दर्ता भएका १३ मध्ये ५ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार किटानी जाहेरी दर्ता भएका १३ मध्ये ५ जना पक्राउ परिसकेका छन् । ‘पहिलो चरणमा दुई जना पक्राउ परेर म्याद थप भई अनुसन्धान पनि भइरहेको छ’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘दोस्रो चरणमा पक्राउ परेका तीन जनाविरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय किशोर विनोद शाही मृत भेटिएको घटनाको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।प्रहरीले पक्राउ परेका पाँच जनाको नाम भने सार्वजनिक गरेको छैन । नगर प्रमुख चलाउनेको पनि खोजी भइरहेको र उनी फरार रहेको प्रहरी अधिकारीले बताएका छन् ।घटनाको अनुसन्धानका लागि वरिष्ठ प्रहरी उपरीक्षक जनकराज पाण्डे र सीआईबीका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट नेतृत्वको टोली खटाइए पनि अनुसन्धानमा प्रगति भएको छैन ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर रावल भने घटनाको अनुसन्धान जारी रहेको र अनुसन्धान सकारात्मक दिशातर्फ केन्द्रित रहेको बताउँछन् ।स्थानीयले भने प्रहरी प्रशासनले घटनालाई गम्भीर रूपमा नलिएको र घटनामा संलग्न रहेकाहरूलाई पक्राउ नगरेको आरोप लगाएका छन् । आरोपीलाई पक्राउ गर्न आनाकानी गरेको भन्दै उनीहरू फेरि आन्दोलनमा उत्रिएका छन् ।