डोटी। तीन वर्षअघि विमानस्थलको निरीक्षणका लागि डोटी पुग्नुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दिपायल विमानस्थलबाट नियमित उडान हुने प्रतिबद्धता व्यक्त गरेका थिए । विमानस्थलको स्तरोन्नति र कालोपत्रे भएपछि २०७७ असोज १७ गते समिट एयरको परीक्षण उडानमा डोटी पुगे उनले हप्ताको तीन दिन उडान भर्ने व्यवस्था मिलाइने बताएका थिए ।
डोटीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेमबहादुर आलेमगर र प्राविधिक टोलीसहित दिपायल विमानस्थलमा पुग्नुभएका मन्त्री भट्टराईको भव्य स्वागत गरियो। समिट एयरले केही समय उडान भरेर पछि हट्यो। त्यसपश्चात् प्रेमबहादुर आलेमगर पनि संस्कुति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए। उनिहरु पनि नेपाल एयरलाइन्सको विमान चढेर डोटी पुगे र भने, “दिपायल विमानस्थलको थप स्तरोन्नतिसँगै धनगढी–दिपायल नियमित उडान हुन्छ।” तर, नियमित उडान भने हुन सकेन।
उसो त २०२६ सालमा स्थापना भएको यो विमानस्थल पटक–पटक सञ्चालनमा आउँदै बन्द हुँदै गरेको थियो। २०५८ सालदेखि पूर्ण रूपमा बन्द रहेको यो विमानस्थल गौचरन र खेलमैदानमा परिणत भएको थियो। विमानस्थलका भवन र संरचना जीर्ण बनिसकेका थिए। २०७३ सालमा नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिको काम अगाडि बढाएको थियो। छ करोड ८० लाख रुपियाँको लागतमा स्तरोन्नति गरिएको सो विमानस्थल २०७७ सालमा पुनः सञ्चालनमा आएको थियो।
सुदूरपश्चिमका पहाडी जिल्लाकै सबैभन्दा पुरानो र सुरक्षित मानिएको यो विमानस्थल अहिले विमानको पर्खाइमा छ। विमानस्थलको धावनमार्ग ४९० मिटर लम्बाइसहित कालोपत्रे भएको छ। यहाँ १८ सिटे टुइनअटर विमानले सहजै उडान भर्न सक्ने यसअघि निरीक्षणमा आएका प्राविधिक टोलीले बताएको थियो।विमानस्थलको स्तरोन्नति भएको दुई वर्षसम्म पनि विमान उडानले निरन्तरता पाएको छैन।