नेपालको एक मात्र रेलवे सेवा कुर्था–जयनगर रेलमा यात्रा गर्ने यात्रुको चाप धेरै हुँदा रेल चढ्न यात्रुहरुले एउटा युद्ध नै जितेको अनुभव गर्ने गर्छन् ।
धनुषाको इनर्वाबाट जनकपुर आएका नवीनकुमार दास कुर्था–जयनगर रेलमार्गको जनकपुर हल्टमा रेल कुर्दै थिए । सरकारी कामको सिलसिलामा जनकपुर आएका उनी रेल चढ्न आइतबार साँझ पौने ५ बजेतिर जनकपुर हल्ट (स्टेसन) आएका थिए ।

कुर्थातर्फ गएको नेपाली रेल जब जनकपुर आइपुग्यो, छिनभरमै उनी रेल चढे । कुर्थाबाटै सिट भरिभराउ आएको रेलमा जनकपुरबाट सयौं मानिस चढे ।जब रेल रोकियो, तब सुरु भयो दौडादौड । रेल करिब ५ मिनेट जनकपुर हल्ट (स्टेसन) मा रोकियो । सयौं मानिस रेल भित्र प्रवेश गर्यो । रेलले लामो हर्न बजायो र सुस्त सुस्त लम्कियो परवाह हल्टतर्फ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडले सञ्चालन गरेको यो नेपालको एक मात्र रेल हो । यो रेल जनकपुरस्थित कुर्थाबाट भारतको जयनगरसम्म चल्छ । कुल ८ वटा स्टेशनमा रेल रोकिन्छ । रोकिएको स्थानमा यात्रुलाई चढाउने र झार्ने गरिन्छ ।

त्यहाँबाट छुटेको रेल जनकपुर, परवाहा, बैदेही, महिनाथपुर, इनर्वा र जयनगर स्टेशनमा रोकिन्छ । जनकपुरबाट कुर्था पुगेको सामान्य कोचमा २० रुपैयाँ भाडा लाग्छ । हरेक स्टेशनमा यस्तै भीड हुने गरेको यात्रुहरु बताउँछन् । यो रेल अहिले ३५ किलोमिटर लामो छ । जयनगरबाट बर्दिबाससम्म कुल ६९ किलोमिटर रेल मार्गको एक खण्ड हो कुर्था–जयनगर ।३५ किलोमिटर लामो कुर्था–जयनगर रेलको यात्रा अवधि साढे १ घण्टाको हो ।
रेल चलेपछि भीड भए पनि यात्रा धेरै सहज भएको अनुभव छ जनकपुरबाट धनुषाकै खजुरी जान रेल कुरेकी यमुना साहको । ‘जनकपुर आएका बेला गाउँ फर्किन गाडी नै नपाउने समस्या धेरै कम भइसक्यो’, उनी भन्छिन्, ‘तर, रेलमा मानिस चढ्ने र झर्ने व्यवस्थापन राम्रो नहुँदा यात्रा सहज भने छैन ।’