पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसबाट ३५ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ।
यस्तै, २४ घन्टामा थप ४ हजार ९२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
१२ जिल्लामा ५०० भन्दा धेरै
नेपालमा अहिले कुल ३४,११७ जनाको सक्रिय सङ्क्रमण रहेको छ।
पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरू १२ वटा रहेका छन्: मोरङ, पर्सा, काठमाण्डू, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रूपन्देही, सुर्खेत र कैलाली।
थप १० जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमितहरू रहेका छन्।
सक्रिय सङ्क्रमितमध्ये २,३६४ जना अस्पतालमा उपचाररत रहेका छन्। तीमध्ये ३३७ जना सघन उपचार कक्षमा र १०७ जना भेन्टिलेटरमा उपचाररत छन्।
सबैभन्दा बढी २० देखि ३९ वर्षका
बिहीवार पुष्टि भएका सङ्क्रमितमध्ये काठमाण्डूका १,१२७ जना, ललितपुरका २५१ जना र भक्तपुरका १८२ जना छन्।
रुपन्देहीमा ५२८, बाँकेमा ४८९ र कैलालीमा ३४९ जना सङ्क्रमित थपिएका हुन्।
थपिएका सङ्क्रमितमध्ये ९७ जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामा गरिएको परीक्षणमा भेटिएका हुन्।
मङ्गलवार पुष्टि भएका सङ्क्रमितमध्ये ८९ जना नौ वर्षसम्मका, २९५ जना १० देखि १९ वर्षका र २,५२७ जना २० देखि ३९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।