सप्तरीको भवानीपुर खुरखुरियाका ५३ वर्षीय यदुनन्दन यादवले छोरालाई डाक्टर पढाउन नौ वर्षसम्म मलेसियाको पेनाङ राज्यमा दसनंग्रा खियाए । उनले त्यहाँको स्मार्ट मोडल कम्पनीअर्न्तगतको नौसन्तार सेक्युरिटी कम्पनीमा काम गर्दा कमाएको ७३ लाख रुपैयाँ बंगलादेशको नर्थ बंगाल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत छोरा विजयको पढाइमा खर्चे ।
चार वर्ष अगाडि एमबीबीएस सकेर विजय घर फर्के, अनि विराटनगरको कञ्चनबारीस्थित नोबेल शिक्षण अस्पतालमा काम सुरु गरेर कमाउन थालेपछि पिता यदुनन्दनले लगानी सफल भएको ठाने । उनी दंग पर्दै छिमेक र आफन्तमा खुसी साटासाट मात्र गरेनन्, सुखद भविष्यको सपना पनि देखे । तर उनको त्यो खुसी र सपना धेरै समय टिकेन ।

तीन वर्षदेखि उक्त अस्पतालको हाडजोर्नी विभागमा कार्यरत छोरा विजयको शव, जब शनिबार बिहान अस्पताल अगाडि डेरा बसेको घरको गेटमा फेला पर्यो तब यदुनन्दनको खुसी र सबै सपना चकनाचुर भए ।
२७ वर्षीय विजय यदुनन्दनका एक्ला र अविवाहित छोरा थिए । सानै देखि पढाइमा अब्बल । प्लस टु सके पछि डाक्टर पढने विजयले इच्छा गरे । ‘आफन्त सबैका छोराछोरी डाक्टर पढ्दै थिए, मैले पनि उनको इच्छालाई मार्न सकिनँ,’ यदुनन्दनले आइतबार कान्तिपुरसँग भने,‘सम्पत्तिका नाममा एक बिघा जमिन थियो, त्यो जमिन पछि उसैलाई काम लाग्छ भन्दै त्यो बिक्री गरेर डाक्टर पढाउनु भन्दा विदेश गएर कमाएर पढाउछु भन्ने निर्णय गरे ।’
छोरालाई डाक्टर पढाउने खर्च जुटाउनैका लागि मजदुरी गर्न उनी मलेसियामा पुगे । भक्कानिंदै उनले भने,‘त्यहाँको पेनाङ राज्यको स्मार्ट मोडल कम्पनीअर्न्तगतको नौसन्तार सेक्युरिटी कम्पनीमा काम सुरु गरे, सुरुमा महिनाको ५ सय रियाल दियो । पछि बढाउँदै महिनाको ९ सय रियलसम्म पुग्यो ।’
कम्पनीका प्रबन्धक अब्दुल रहमानले उनलाई निकै विश्वास गर्थे । ‘मैले त्यहाँ मजदुर गरेर नेपालमा छोरालाई डाक्टर पढाउँदै गरेको उनले थाहा पाएछन्, त्यसपछि उनले त्यहाँ नेपाली नौ लाख रुपैयाँ चन्दा उठाएर छोरालाई पढाउन सहयोग भन्दै मलाई दिए,’यदुनन्दनले भने,‘त्यो रकमले छोरालाई बंगलादेशमा डाक्टर पढाउन मलाई ठूलो राहत पुगेको थियो ।’