लम्की : कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुर को भुराघाटमा एक युवकको सामुहिक कुटपिटबाट मङ्गलवार राति मृत्यु भएको थियो | सामुहिक कुटपिटमा संलग्न १४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको हो। भुराघाटका डिल्ली कोइराकालाको विवाहमा गएका अधिकारीमाथि विवाद हुँदा युवाहरुको समूहले कुटपिट गरेका थिए। उनलाई उपचारका लागि लम्कीको लालरत्न अस्पतालमा लगिएको थियो। अस्पतालले नेपालगञ्ज मेडिकल कलेज रेफर गरेको थियो।
नेपालगञ्ज मेडिकल कलेजले पनि रेफर गरेपछि अधिकारीलाई टीकापुर ल्याइएको थियो । टीकापुर अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका हुन्। अधिकारीमाथि लम्कीचुहाका युवाहरुले कुटपिट गरेका थिए।
कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले भूराघाटका २३ वर्षीय विवेक भुल, २२ वर्षीय विवेक भुल, वर्ष २२ का सन्तोष परियार, वर्ष २४ का गणेश भुल, वर्ष १५ का पिन्टु चौधरी, वर्ष २२ का दिलबहादुर चौधरी र २२ वर्षीय पुरन सार्कीलाई पक्राउ गरेको छ।
त्यस्तै लम्कीचुहा नगरपालिका–९ का २८ वर्षीय बिर्ख भुल, २४ वर्षीय सोनु साउँद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अकेश कुँवर, २३ वर्षीय निवन केसी, २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल सुनार पनि पक्राउ परेका छन्। पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय लम्कीमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।