सेयर बजार नेप्सेमा आइतबार हरियाली छाएको छ । लामो समयदेखि निरन्तर घटिरहेको सेयर बजारमा साताको पहिलो दिन ३.९४ प्रतिशत अर्थात १०१ अंकको वृद्धि भएको हो । बैंकहरुले चैत महिनाका लागि ब्याजदर नबढाउने गरी गरेको निर्णयको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ ।
आइतबार बजार बन्द हुँदा नेप्से २६६७.९७ अंकमा पुगेको छ । नेप्सेमा कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ । आइतबार चार अर्ब ८७ करोड बराबरको कारोबार भएको छ । सेयर बजारमा करिब दुई महिनापछि यति ठूलो मात्रामा वृद्धि भएको हो ।
आइतबार अधिकांश कम्पनीले नाफा कमाएका छन् । आजको कारोबारमा दुई सय ११ कम्पनीले नाफा कमाएका छन् भने सात कम्पनीले सर्किट हानेको छन् ।
यो दिनको कारोबारमा तीन कम्पनीहरु एसियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र इमर्जिङ नेपाल कम्पनीको सेयर मूल्यमा पनि सकारत्मक सर्किट लागेको छ ।
उपसमूहतर्फ सबै समूहमा हरियाली छाएको छ । जसमध्ये लाइफ इन्स्योरेन्स ६.९५ प्रतिशत, फाइनान्सतर्फ ५.०१ प्रतिशतले बढेको छ ।