काठमाडौँ — भारतले ७३औं गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित बंगालको खाडीको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यको प्रयास (बिमस्टेक) का राष्ट्र वा सरकार प्रमुखलाई प्रमुख अतिथि बनाउने तयारी गरेको छ । भारतले जनवरी २६ मा गणतन्त्र दिवस मनाउने गरेको छ ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार गणतन्त्र दिवसमा आयोजना हुने मुख्य परेडको अतिथिका लागि प्रधानमन्त्री देउवासहित बिमस्टेक देशका नेताहरुसँग सम्पर्क गरिएको छ ।
भारतीय विदेश मन्त्रालयले सबै देशलाई कार्यक्रममा सहभागी हुन समय उपलब्ध हुने वा नहुने भन्ने विषयमा कूटनीतिक च्यानलबाट सम्पर्क गरेको इन्डियन एक्सप्रेसले जनाएको छ ।
सबै देशका नेताबाट कार्यक्रममा सहभागी हुने निश्चित भएपछि मात्रै भारतले अतिथिको सूची सार्वजनिक गर्नेछ । यसअघि नेपालबाट सन् १९५१ मा राजा त्रिभुवन र सन् १९९९ मा राजा विरेन्द्र गणतन्त्र दिवसको प्रमुख अतिथि बनाइएको थियो ।