काठमाडौं – सरकारले भूमि आयोग गठन गर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको सरकारले गठन आदेशमार्फत् भूमि आयोग गठनको तयारी गरेको हो ।
विराटनगरका केशव निरौलालाई आयोगकाे अध्यक्ष बनाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ । निरौला नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल शिक्षक संघका अध्यक्ष हुन् ।

उनले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आफूलाई राजदूत वा अन्य पदभन्दा सुकुमबासी समस्या समाधानको जिम्मेवारी दिन आग्रह गरेका थिए ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा आयोग गठन गरेको थियो । तर नयाँ सरकारले १९ साउनमा देवि ज्ञवाली नेतृत्वको आयोग खारेज गर्ने निर्णय गरेको थियो ।
यस्तै भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा आइतबार काठमाडौंको कोटेश्वरमा प्रदर्शन गरिएको छ ।