महिलाको शारीरिक संरचना यति जटिल हुन्छ कि त्यसले विभिन्न क्षणमा ठूलो उथलपुथलबाट गुज्रिनुपर्ने हुन्छ । ९ देखि १३ वर्षको उमेरमा रजस्वला सुरु हुनु, युवावयमा गर्भवती हुनु, प्रसूति पीडा खेप्नु अनि फेरि उमेर ढल्किंदै गएपछि रजोनिवृत्ति हुनु ।
शारीरिक र भावनात्मक रुपले यी चरणहरु महिलाका लागि त्यति सहज हुँदैनन् । मोनोपोज अर्थात् रजोनिवृत्ति एक यस्तै चरण हो, जहाँ महिलाले फरक स्थितिबाट गुज्रिनुपर्ने हुन्छ । महिलाहरूमा रजस्वला बन्द भएको वा रोकिएको अवस्थालाई रजोनिवृत्ति भनिन्छ । यस अवस्थामा महिलाको अण्डाशयको काम स्थायी रूपमा बन्द हुन्छ । प्रजनन् शक्ति समाप्त हुन्छ ।
यो एउटा प्राकृतिक प्रक्रिया हो । महिनावारी हुन छाडेपछि महिलाको शरीरमा विभिन्न हर्मोनल परिवर्तन हुन्छ । जसको कारण महिलामा विभिन्न समस्या देखा पर्न सक्छन् । ४५ देखि ५५ वर्ष उमेरभित्रमा महिलाहरूमा रजोनीवृत्ति हुन्छ ।
पाठेघरको दुईतिर दुईवटा डिम्बाशय रहेको हुन्छ । त्यसले ‘एस्ट्रोजोन’ र ‘प्रोजोस्ट्रोन’ नामक हर्मोन उत्पादन गर्छ । यो हर्मोनले गर्दा नै महिनावारी नियमित हुन्छ । रजोनिवृत्ति भएपछि दुईवटा डिम्बाशयले काम गर्न छोड्छ र हर्मोनको उत्पादन पनि हुन छाड्छ ।यी दुई हर्मोन बन्न छाडेपछि शरीरमा यसको कमी हुने र जसकारण महिनावारी सुकेपछि विभिन्न समस्या देखा पर्न थाल्ने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. श्वेता सिंह बताउँछिन् ।