बिजुलीको आन्तरिक खपत बढाउने ध्येयका साथ सरकारले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौं’ नाराका साथ प्रवर्द्धनात्मक योजना अगाडि सारेको छ।
देशभित्रै बिजुली खपत बढाउने र समृद्धिको लक्ष्यलाई साकार पार्ने योजनाका साथ उक्त कार्यक्रम अगाडि बढाउन लागिएको हो।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुलीसमेत राष्ट्रिय प्रणालीमा जोडिएपछि देशभित्र कूल जडित क्षमता दुई हजार मेगावाटको हाराहारीमा पुगेको छ।
प्रणालीमा हाल एक हजार ५०० मेगावाट बराबरको बिजुली माग छ। बढी बिजुली माग हुने साँझ बिहानको समयमा बिजुलीको माग बढी भए पनि रातको समयमा कम माग हुने गरेको छ।
सरकारको योजनाअनुसार चालु आवको अन्त्यसम्म प्रणालीमा सरकारी तथा निजी क्षेत्रका आयोजनाबाट कूल एक हजार ६२९ मेगावाट बिजुली जोडिने प्रक्षेपण छ।
त्यसमा सरकारी लगानीका माथिल्लो तामाकोशीसहित, रसुवागढी १११, साञ्जेन र माथिल्लो साञ्जेन ५६, मध्यभोटेकोशीको १०२ मेगावाट बिजुली थप हुनेछ।
यस्तै निजी क्षेत्रका आयोजनाले एक हजार ५५ मेगावाट थप हुनेछ। त्यसो हुँदा प्रणालीमा झण्डै तीन हजार ५०० मेगावाट भन्दा बढी बिजुली उपलब्ध हुने अवस्था छ।