कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सिन्धुपाल्चोकमा पुनः बाढीकाे वितण्डाः रेडियो मेलम्चीको भवन ढल्यो

मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ। रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिएका हुन्।

बिज्ञापन

यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो। त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन। बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो।

पुनः शनिबार राति आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको अध्यक्ष भारतीले बताए। राति आएको बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ। मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ।

बिज्ञापन

यसअघि हेलम्बु गाउँपालिका नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए। खोलाबाट असार १ जत्तिकै आवाजमा बाढी आएको उनले बताए।

बिज्ञापन

यसैबीच हेलम्बुस्थित चनौटेको रातो पुलमाथिबाट अहिले पनि पानी बगिरहेको स्थानीयवासी हस्त पण्डितले जानकारी दिए। बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ।

त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ। नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0