मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनको तयारी थालिएको छ। सुदुरपश्चिम प्रदेशमा पनी यती बेला उमेदवारी चर्चा चुलिएको छ । सुदुरपश्चिमका दलका नेताहरु प्रदेश र प्रतिनिधिसभाका लागि कुनमा उम्मेदवार बन्ने भनेर छनौट गरिरहेका छन्। २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमका अनुभवी नेता कसैले पनि प्रदेश रोजेको पाइएको छैन् ।
प्रदेश संरचना स्थापनाअघि मन्त्रीको अनुभव भएका वा पार्टीको केन्द्रीय पदमा पुगिसकेका सुदूरपश्चिमका कुनै पनि दलका नेताले प्रदेश सभाका लागि उम्मेदवारी दिएएको नपाइएको हो । केन्द्र सरकारमा मन्त्रीको अनुभव भएका एमालेका कर्णबहादुर थापाले प्रदेशसभामा समानुपातिकतर्फ उम्मेदवारी दिए पनि सांसद हुन पाएनन् ।
त्यसबेला पनि राष्ट्रिय राजनीति र आफ्नो दलभित्र प्रभाव राख्ने एमालेका भीम रावल, कांग्रेसका रमेश लेखक, एनपी साउद, वीरबहादुर बलायर, दिलेन्द्र बडू, रामजनम चौधरी, माओवादी केन्द्रका लेखराज भट्ट (अहिले एमाले) ले प्रदेशसभा रोजेर प्रदेश सरकारको नेतृत्व गर्न अग्रसर भए प्रदेशले गति लिन सक्ने धेरैको बुझाई थियो । तर, उनीहरू कसैले पनि प्रदेश रोजेनन् र प्रतिनिधिसभाका लागि उम्मेदवार बने ।
आसन्न निर्वाचनका लागि पनि पार्टीको केन्द्रीय तहमा पुगिसकेका र संघ सरकारमा मन्त्रीको अनुभव प्राप्त कसैको रोजाइमा प्रदेश परेको छैन । कांग्रेस नेता लेखक, साउद, प्रदेश सभापति बीरबहादुर बलायर, बडू वा चौधरी कसैको पनि चर्चा प्रदेशसभाका लागि छैन । उनीहरूले आफूलाई प्रतिनिधिसभाकै उम्मेदवार बन्न जिल्ला तहबाट सिफारिस गराइसकेका छन् ।
एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री प्रेम आलेको पनि प्रतिनिधिसभाकै लागि हानाथाप छ। आले र कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायरको निर्वाचन क्षेत्र एउटै भएकाले अरूभन्दा डोटीमा बढी समस्या छ ।