लम्की : धनगढीको सेती प्रादेशिक अस्पतालका करार सेवाका चिकित्सक तथा अन्य कर्मचारीको भत्ता कटौती गरिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले बजेट निकासा नदिएकाले अस्पतालका कर्मचारीको भत्ता कटौती गरिएको हो।
सेती प्रादेशिक अस्पतालमा कार्यरत एक सय ८२ जना चिकित्सक, नर्सिङ स्टाफ तथा अन्य कर्मचारीलाई प्रदेश सरकारले यो वर्ष दशैं भत्ता नदिने भएको हो। गत भदौ १५ गतेको मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत दरबन्दीबाहेकका करार सेवाका कर्मचारीलाई प्रोत्साहन भत्ता नदिने निर्णय भएको छ।
अस्पतालका कर्मचारीहरुले खाइपाइ आएको दसैं पेस्की तथा महङ्गी र प्रोत्साहन भत्ता नपाएकाले माथिल्लो निकायमा निवेदन दिएको डाक्टर विजयविक्रम बमले बताए।
‘हामीले यो वर्ष दसैं भत्ता, प्रोत्साहन र महङ्गी भत्ता पाएका छैनौँ, पाउनु पर्यो भनेर निवेदन दिएका छौँ,’ उनले भने, ‘खाइपाइ आएको भत्ता पाउनु पर्यो भन्ने हाम्रो माग छ।’ संघीय अर्थ मन्त्रालय र प्रदेशको आर्थिक मामिला मन्त्रालयको परिपत्र र निर्देशनअनुसार अस्पतालको दरबन्दीबाहेकका कर्मचारीको दसैं पेस्की, प्रोत्साहन र महङ्गी भत्ता कटौती गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
विगतका वर्षहरुमा करार सेवाका कर्मचारीले पनि यो सुविधा पाउने गरेका थिए। अस्पतालमा बिरामीको चाप अनुसारको दरबन्दी नहुँदा चिकित्सक र कर्मचारीलाई सेवा करारमा लिनुपर्ने बाध्यता छ। तर अस्पताल व्यवस्थापनले भने उपयुक्त विकल्प खोजेर सबै कर्मचारीलाई भत्ता दिने व्यवस्था गरिने दाबी गरेको छ।
प्रदेशकै सबैभन्दा ठुलो सेती अस्पतालमा ५० शय्याको सरकारी दरबन्दी र ७५ शय्याको दरबन्दी अस्पताल विकास समितिकोले स्वीकृत गरेको छ। जम्मा एक सय २५ स्वीकृत दरबन्दीमा सञ्चालित अस्पतालमा बिरामीको संख्या भने उच्च छ। सेती सुदूरपश्चिमको रेफरल अस्पताल हो।