कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले ठूलो क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूणर् क्षति भएको छ । हावाहुरीका कारण टीकापुर १ विशालनगरका भरत विकको ३ कोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ ।
त्यस्तै, टीकापुर ४ का भल्लुराम चौधरीको २ कोठे कच्ची घर र भान्सामा रुख ढलेर क्षति भएको छ । हावाहुरीका कारण यहाँ सयौँ घरका छानामा भएका जस्तापाता उडाएका, दर्जनौँ विद्यालयका छाना उडाएका, ठाउँ ठाउँमा विजुलीका पोल ढलेका छन् ।
हावाहुरीका कारण कैलालीमा केरा खेतीका ठूलो क्षति भएको छ । हावाहुरीका कारण टीकापुर क्षेत्रमा मात्रै सयौँ विघा केरा खेती नष्ट भएको किसानको गुनासो छ । टीकापुरका केरा किसान टेकेन्द्र धामीको १० विघामा लगाएको केरा खेती हावाहुरीले ढालेको छ । केरा उत्पादन हुने समय नजिकिदै गर्दा हावाहुरीले केरा खेतीमा नोक्सानी गरेपछि किसान पीडामा छन् ।
यहाँ सयौँ विघा जमीनमा खेती गरिएको छ । हावाहुरीले कतिपय किसानका पुरै बारी ढालेको छ । यसका साथै हावाहुरीले तरकारी खेतीमा समेत नोक्सानी गरेको किसानको गुनासो छ । ‘‘लहरे तरकारी बाली सबै ढालेको छ । लटरम्म फलेका बोडी, फर्सी, काक्रा, लौका, करेला जस्ता तरकारीमा नोक्सान भएको छ’’, किसान झपिन्द्र चौधरीले भन्नुभयो, ‘‘तरकारी बारी पुरै हावाहुरीका कारण धुलाम्मे भएको छ । माटो र बालुवा आएर बारीमा भरिएको छ ।’’