आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाको लागि आइतवारदेखि म्यादी प्रहरीको आवेदन खुलेको छ। आवेदन खुलेपछि जिल्ला प्रहरी कार्यालय कैलालीमा सबैभन्दा बढी शिक्षित बेरोजगारको भिड छ।
आर्थिक अभावकै कारण छोटो समयका लागि खुलेको रोजगारीमा अवेदन दिन आएको गोदावरी नगरपालिकाबाट जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका लालसिंह रानाले बताए। ‘अवधि छोटो भएपनि केही खर्च जोहो गर्न सकिन्छ। गरिबका लागि पैसाभन्दा ठूलो केही होइन’ भावुक स्वरमा उनले भने।
म्यादी हुन चाहने भिडमा विदेशबाट फर्केकाहरु पनि थिए। वर्षाैदेखि तीन तहको सरकारलाई स्वदेशमै रोजगारीका लागि आग्रह गरिरहेका उनीहरु अहिले ४० दिने जागिरका लागि आवेदन खुलेपछि मक्ख छन्।
कैलालीको लम्की चुहा नगरपालिकाका महेन्द्रप्रसाद उपाध्याय सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा थिए। म्यादी प्रहरीमा भर्ना हुन उनी चर्को घाममा लाइन लागेका थिए। स्नातक तह उत्तीर्ण गरेका उनी घर खर्च चलाउनै म्यादीमा भर्ना हुन आएका थिए। आफ्नो र भाइबहिनीको पढाइ खर्च जोहो गर्न सकिन्छ कि भनेर भर्ना हुन आएको उनी बताउँछन्। ‘आर्थिक अवस्था कमजोर छ। दुई महिनाकाे कमाइले पढाई खर्चमा केही सहायता होस् भनेर भर्ना हुन आएको हुँ’ उनले भने।
स्थानीय तहको निर्वाचनका लागि कैलालीमा २ हजार ४ सय ५७ जना म्यादी प्रहरी माग गरिएको छ। म्यादी प्रहरीका लागि मासिक ३० हजार २ सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ। १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले चैत ११ गतेसम्म म्यादीका लागि आवेदन दिन सकिने बताइएको छ।